विज्ञान

सुर्यको गतिविधि बारे अनौठा तस्विर
नासा, वैशाख १० (बिबिसी)-
सूर्यमा हुने विस्फोटपछि निस्कने आगोको मुस्लो लाखौं किलोमिटर परसम्म पुग्ने गरेको अमेरिकी अन्तरीक्ष नियोग (नासा)ले जनाएको छ।
सूर्यको गतिविधि अनुसन्धान गर्ने केन्द्रले पठाएको सूर्यका सतहको पटक पहिलोपटक सार्वजनिक अद्भुत तस्बिरहरूमा त्यसको स्पष्ट आकार देखिएको छ।


यी तस्बिरहरूमा सूर्यमा हुने ठूलो विष्फोट तथा अन्य गतिविधिहरू देखिन्छन्। केन्द्रमा राखिएको उपकरणले पठाएका यी स्पष्ट तस्बिरहरुको माध्यमबाट वैज्ञानिकहरूलाई सौर्य गतिविधिलाई के ले सञ्चालन गर्दछ भन्ने बुझ्न सहयोग गर्ने अपेक्षा गरिएको छ। यी तस्बिर उच्च गुणस्तरीय टेलिजिभन क्यामेराको भन्दा दशौं गुणा बढी स्पष्ट छ। सो केन्द्रमा रहेका तीन वटा उपकरणले सूर्यको भित्रको सतह तथा त्यसको वरिपरिको अवस्थाबारे अनुसन्धान गर्ने छन्।
फेब्रुअरीमा कोप कानाभेरलबाट प्रक्षेपण गरिएको एट्लास रकेटबाट अन्तरीक्षमा लगिएको केन्द्रले कम्तिमा ५ वर्ष काम गर्ने अपेक्षा गरिएको छ। अनुसन्धानकर्ताले यस पटकको तस्बिरका माध्यमबाट सूर्यको गतिविधिले पृथ्वीमा पर्ने असरबारे पूर्वानुमान गर्ने कार्यमा ठूलो फड्को मार्ने आशा व्यक्त गरेका छन्।
वैज्ञानिकहरू त्यति परबाट त्यस प्रकारका गुणस्तरीय तथ्यांक प्राप्त भएकोमा निकै रोमाञ्चित भएका छन्। 'हामीले यी अद्भुत तस्बिरहरू हेर्‍यौं, म जस्ता सूर्य सम्बन्धी अध्ययन गर्ने भौतिकशास्त्रीहरू वास्तवमै खुशीले स्तब्ध भयौं,' नासाको मुख्यालयका वैज्ञानिक लिका गुहाथाकुर्ताले बताए।
सौर्य गतिविधिको जानकारी मानव जातिका लागि महत्वपूर्ण हुने गर्दछ। यी गतिविधि अत्याधिक आक्रमण हुने गर्दछन्, यसले उपग्रह, सञ्चार र पृथ्वीको विद्युत् प्रणाली नष्ट हुन सक्दछ। यसबाट अन्तरीक्ष यात्रीको स्वास्थ्यमा पनि गम्भीर असर गर्न सक्दछ।